२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

पेन्सन भन्दा तलब कम भएपछि टेन्सनमा थिए अधिकारी…

१० मंसिर, काठमाडौँ । पेन्सन भन्दा तलब सुबिधा कम भएपछि संसदको सचिव सुरेश अधिकारीले राजिनामा दिनुभएको छ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले आइतबार पदबाट राजीनामा दिनुभएको हो । राजिनामामा स्वास्थयको कारण बताए पनि सेवानिवृत्तपछि पाउने पेन्सनभन्दा संसदको सचिव पदको सुविधा कम भएपछि उहाँले राजिनामा दिनुभएको हो ।

नेपाल सरकारको सचिवबाट निबृत्त भैसकेपछि प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेको रोजाइमा अधिकारी सचिवमा नियुक्त हुनुभएको थियो । घिमिरे देशभित्रै नभएको समयमा अधिकारीले राजिनामा दिएर स्वीकृत गराउनुभएको छ । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहनुभएको छ ।

प्रतिनिधिसभाको सचिवको नियुक्ति र राजिनामाको स्वीकृति राष्ट्रपतिले गर्ने कानुनी व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नै अधिकारीको राजिनामा स्वीकृत गर्नुभएको छ । गत असार १८ गते अधिकारी सचिवमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ०९:२१