साल अड्किएकी सुत्केरीको हेलिकप्टरबाट उद्धार, गरिबका निम्ति भगवान बन्दै ओली सरकार
२८ माघ हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ । वडा ३ का ३९ वर्षीया रुपशिला दमाईंको साल अड्किएर निस्कन नसक्दा चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथा लागेका दमाईंलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धारको लागि पहल गरी उद्धार गरिएको प्रजिअ भट्टराईले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई र ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहलमा प्रदेश अस्पतालमा लगिएको हो । उच्च रक्तश्रावले अचेत अवस्थामा रहेकी दमाईंलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
यस्तै केही दिन अगाडि मात्रै उत्तरी नाम्खा गाउँपालिका वडा लिमी गाउँका सुत्केरी व्यथा लागेकी ३५ वर्षीया याङजिन तामाङको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरिएको छ । पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाई उद्धार गरेर धेरैको ज्यान जोगिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेृत्वको वर्तमान सरकारले सुरू गरेको यो अभियान गरिबका निम्ति भगवान सरह भएको छ । रासस
प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार २१:५८












