५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नेपाल सरकारद्धारा जैमिनीकासबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

२७ माघ, गलकोट । नेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि पारित गरेको दुई महिनापछि बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालू आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो ।

जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी नगरपालिकाले सामुदायिक विद्यालयमा प्याड वितरण कार्य शुभारम्भ गरेको हो । उक्त विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

“विभिन्न कारणले प्याड वितरण कार्यक्रममा ढिलाइ भएको थियो” उपप्रमुख रानाले भन्नुभयो, “बालअधिकार चेतना समूहबाट शुरु कार्यक्रम नगरपालिकाका २२ सामुदायिक विद्यालमा लागू हुनेछ ।” सो नगरपालिकास्थित सामुदायिक विद्यालयका एक हजार ७८७ छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिनुभयो ।

महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ वटाका दरले महिनाको १६ वटा वितरण गरिने उहाँको भनाइ थियो ।महिनाबारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या समधानका लागि सरकारले थालेको अभियान सफल बनाउन नगरका सबै विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताउनुभयो ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी रु एक अर्ब २७ करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : February 10, 2020 at 2:49 pm