भूतपूर्व विद्यार्थी मञ्च पञ्चकन्या माध्यामिक विद्यालय नुवाकोटको अध्यक्षमा पुनः रेग्मी
२५ माघ, नुवाकोट । भूतपूर्व विद्यार्थी मञ्च पञ्चकन्या माध्यामिक विद्यालय बेलकोटगढी ११ नुवाकोटको पाँचौ राष्ट्रिय सम्मेलनले विष्णुहरि रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्षमा अघिल्लो कार्यसमितका अध्यक्षलाई नै सर्वसम्मत पून निर्वाचित गरेको निर्वाचन समितिका संयोजक एवं पञ्चकन्या माध्यामिक विद्यालयका प्रधानाध्यापक शम्भु तिवारीले जानकारी दिए ।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा गरिएको पाँचौ राष्ट्रिय सम्मेलनमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, राजनीतिकर्मी, सरकारी कर्मचारी, निजी व्यवसायी, कलाकारहरुको समेत सहभागिता रहेको मञ्चका नवनिर्वाचित महासचिव ठाकुरजंग पाण्डेले बताए । कार्यक्रममा उद्घाटन मन्तव्य प्रस्तुत गर्दै नेकपा बेलकोटगढी नगर कमिटीका अध्यक्ष प्रेमबहादुर तामाङले मञ्चले समन्वयकारी भूमिका निर्वाह गरी अगाडि बढ्नु पर्ने बताए ।
त्यस्तै प्र. अ. तिवारीले विगतमा भू. पू. विद्यार्थी मञ्च गठनदेखिकै विषयवस्तु स्मरण गराई विद्यालय र विद्यार्थीहरुको हितमा पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए । बेलकोटगढी वडा नं ११ का वडाध्यक्ष रामहरी पाण्डेज्यूले मञ्चको सकरात्मक र समन्वयात्मक भूमिकाबाट विद्यालयले लाभ लिन सकोस भन्ने कामना गरे । राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्य राख्दै मञ्चका अध्यक्ष रेग्मीले मञ्च लिनका लागि नभई दिनको लागि भएको र गाउँठाउँ तथा विद्यालयको हित प्रवर्द्धनका लागि इच्छुक, जागरुक, त्यागी पूर्व विद्यार्थीहरुलाई कार्यसमितिमा बसेर काम गर्न एवं आफ्नो व्यवहार र आचरणलाई साझा निष्पक्ष तथा तटस्थ देखिने र बुझिने गरी अगाडि बढाउन सबैमा आग्रह गरे ।

साधारणसभाले बरिष्ठ उपाध्यक्षमा राजुमान लामा, ४ उपाध्यक्षमा ध्रुव तिवारी, रामशरण तिमिल्सिना, अप्सरा ढकाल र अर्जुन पनेरु, महासचिवमा ठाकुरजंग पाण्डे, ३ सचिवमा बिकास ढकाल, गणेश पाण्डे र अमृत तिवारी, कोषाध्यक्षमा बासुदेव पनेरु, सहकोषाध्यक्षमा संजय भुडभरी, ६ सदस्यहरुमा रमेश रानामगर, सिताराम पाण्डे, दिपकजंग पाण्डे, दिल बहादुर श्रेष्ठ, प्रदिप पाण्डे र सरिता मुडभरी निर्वाचित गरेको छ ।
निवर्तमान कार्यसमिति विघटन गर्नु अगाडि कार्यसमितिको तर्फबाट प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताब पारित गरिएको थियो । विधान वमोजिम गठित निर्वाचन समितिले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समिति सदस्य प्रकाशजंग पाण्डेले बताउनुभयो ।

सम्मलेनले मंचको २४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । विधान संशोधन गरी नुवाकोट क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यलाई पदेन मञ्चको प्रमुख संरक्षक रहने व्यवस्था गरेको मञ्चको नवनिर्वाचित अध्यक्ष रेग्मीले बताए । कार्यक्रममा नेकपा बेलकोटगढी नगर कमिटीका सचिव नवराज तिवारी, नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं बेलकोटगढी वडा ११ का सभापति बैकुण्ठ बहादुर पाण्डे, नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख भोला प्रसाद पाण्डे, लगायतले शुभकामना दिएका थिए । १३ वर्ष अगाडि नुवाकोटको ककनीमा पिकनिक सहितको भेला आयोजना गरी भूमराज तिवारीको अध्यक्षतामा गठन गरिएको भू. पू. विद्यार्थी मञ्चले विभिन्न गतिबिधिहरु संचालन गर्दै आएको छ ।
प्रकाशित मिति : February 8, 2020 at 10:49 pm









