सिन्धुपाल्चोकको तिपेनी प्रहरी चाैकीमा आक्रमण, घाइते असईलाई उपचारका लागि काठमाडाैँ ल्याइदैँ
२५ माघ, काठमाडौँ । सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण हुँदा २ प्रहरी घाइते भएका छन । शुक्रबार राति मोटरसाइकलमा आएका १२/१५ जनाले सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८, तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन ।

आक्रमणबाट चौकीका इन्चार्ज असई सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन । घाइते मध्ये झाको थप उपचार आवश्यक भएकाले काठमाडौँ पठाइएको एसपी मर्जनले जानकारी दिए । हवल्दार मगरको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रहरीले आक्रमणकारीको खोजीका निम्ति बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ । प्रहरी चौकी आक्रमणमा संलग्न समूहका एक सदस्य भने पक्राउ परेका छन । आक्रमणकारीले प्रयोग गरेका चार वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको एसपी महर्जनाले बताए । घटनाको अनुसन्धान भैरहेकाले पक्राउ परेका व्यक्तिको पहिचान नखुलाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : February 8, 2020 at 10:24 am









