२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्छः मन्त्री विश्वकर्मा

२४ माघ, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उहाँले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताउनुभयो ।

युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन कलेज अफ इञ्जिनीयरिङ कलेजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् । “युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन्” उहाँले भन्नुभयो, “विदेशमा गएर निकै तल्लोस्तरको काम गरिरहेका हुन्छन् ।” मन्त्री विश्वकर्माले युवाको भविष्यसँग देशको भविश्य जोडिएकाले विभिन्न सीप सिकी आयआर्जनका काममा लाग्न आग्रह गर्नुभयो ।

उहाँले समाजमा व्याप्त रहेका विभेदको अन्त्य गर्दै आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण गरिने बताउनुभयो । युवाले विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न खोज अनुसन्धानको माध्यमबाट राष्ट्रलाई योगदान दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

“सरकारले युवाको श्रम, कला, सीप र प्रतिभाको उचित कदर गर्छ”, उहाँले भन्नुभयो, “कुनै एक विषयमा विज्ञता हासिल गर्दै समृद्ध मुलुक निर्माणको महान् अभियानमा हातेमालो गर्न म युवा जगत्लाई आग्रह गर्दछु ।”

मन्त्री विश्वकर्माले नेपाल भौगोलिक सहजता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको बताउँदै प्राकृतिक अनुकूलताको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । “भौगोलिकता र प्राकृतिक प्रतिकूलताका बाबजुत अन्य देशले विकासमा उल्लेख्य प्रगति हासिल गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अब सामूहिक लक्ष्य, इच्छा शक्ति र सङ्कल्पका साथ नेपाललाई विकसित देशको दाजोमा पु¥याउनुपर्छ ।”

उहाँले नेपालमा शान्ति र राजनीतिक स्थिरता कायम भएको भन्दै दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकारले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

न्यू समिटका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले काठमाडौँ उपत्यका र देशका विभिन्न ठूला शहरबाट गरी तीन हजार विद्यार्थी सहभागी भएको जानकारी दिदैं विद्यार्थीलाई सही दिशानिर्देश गर्दै सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।काठमाडौँ मोडलका प्रिन्सिपल सुरेन्द्र सुवेदीले सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको बताउनुभयो ।

कार्यक्रममा केवाइसी–२०२० युथ आइकनबाट क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई रु एक लाखबाट सम्मान गरियो । यस्तै केवाइसी–२०२० विशेष अवार्डबाट राष्ट्रिय खेलाडी (तेक्वान्दो) आयशा शाक्यलाई सम्मान गरियो । गत वर्षदेखि शुरु गरिएको कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : February 7, 2020 at 3:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/