साउथ अभिनेता विजयको घरमा इनकम ट्याक्सका अधिकारीकाे छापा, ६५ करोड भारु जफत
२३ माघ, काठमाडाैँ । कर छलीको आरोपमा दक्षिण भारतीय अभिनेता विजय विवादमा फसेका छन् । विजयको घरमा ‘इनकम ट्याक्स’का अधिकारीले छापा मारेर ६५ करोड भारु जफत गरिएको भारतीय मिडियाले जनाएकाे छ ।
भारतीय मिडियाका अनुसार विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो । यो रकम २ अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ । जसमध्ये ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो ।
भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो । अहिले अभिनेता विजयसँग सोधपुछ चलिरहेको जनाइएकाे छ । एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ । यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो ।
यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो । कर अधिकृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन् ।
प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १९:२७