नेपाल टेलिभिजनका पहिलो समाचार वाचक वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
२२ माघ, काठमाडाैँ । नेपाल टेलिभिजनका पहिलो समाचार वाचक वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ । शर्माको बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको परिवारले जनाएको छ । शर्माको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो ।
गंगालाल अस्पतालमा ५ दिन उपचार गरी शर्माला मंगलबार राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै शर्माको बिहान निधन भएको शर्माका दाजु लक्ष्मीनाथ शर्माले पुष्टि गरेका छन । २००४ सालमा इलाममा जन्मनु भएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए । शर्माको अाजै पशुपति अर्याघाटमा अन्त्येष्टि गरिदैँ छ ।

को हुन शर्मा ?
गोरखापत्रबाट मिडिया करिअर सुरु गरेका थिए दुर्गानाथ शर्माले । त्यसपछि रेडियो नेपालमा समाचार वाचक बने उनी । नेपाल टेलिभिजन स्थापनासँगै टेलिभिजन स्क्रीनमा देखापरे । उनी पहिलो समाचार वाचक पनि हुन । मिठो आवाज र स्पष्ट प्रस्तुतिका कारण उनले ख्याती कमाएका थिए । उनले चलाएको विश्व घटना अझै धेरैको स्मरणमा ताजै छ ।
नेपाल टेलिभिजनमा महाप्रबन्धकसमेतको जिम्मेवारी उनले निर्वाह गरे । झण्डै नौ वर्षअघि उनी नेपाल टेलिभिजनबाट अवकास लिएर एभिन्युज टेलिभिजनमा आवद्ध भए । त्यहाँ छोटो समय काम गरेर (अहिले प्रशारण बन्द भएको) नेशनल टेलिभिजनमा कार्यकारी भूमिकामा पुगे । पछिल्लो समयमा उनी माउन्टेन टेलिभिजनमा पनि आवद्ध भए । उनले केही वर्षपहिलेसम्म अस्ट्रेलियाको एउटा रेडियोमा साप्ताहिक रूपमा रिपोर्ट पठाउने गरेका थिए । अघिल्लो पुस्तामाझ लोकप्रिय दुर्गानाथले माउण्टेन टेलिभिजनको व्यवस्थापनले तलब नदिएपछि श्रम अदालतमा गएर मुद्दा लडि तलब लिएका थिए ।
प्रकाशित मिति : February 5, 2020 at 12:57 pm





