५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

भरतपुरमा अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालन

२१ माघ, रत्ननगर । क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । युनेसेफ र खानेपानी विभागको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्रनारायण देवले जानकारी दिनुभयो । पानी परीक्षण गर्न आवश्यक उपकरण भएको एम्बुलेन्सलाई करीब रु ५० लाख परेको उहाँले बताउनुभयो ।

असोज महिनादेखि कार्यालयले पानी परीक्षणका लागि घुम्ती सेवा शुरु थियो । अहिलेसम्म धादिङ, मकवानपुर, माडी, खैरहनीलगायत स्थानमा लगेर स्थलगत रुपमा पानीको परीक्षण गरिएको देवले बताउनुभयो । महामारी हुँदा प्रभावित क्षेत्रहरुमा लगेर पानीको परीक्षण गर्न यस एम्बुलेन्सले सहयोग पुग्ने उहाँको विश्वास छ ।

“विशेषगरी दैवी प्रकोपका घटनाको समयमा पानीको स्थलगत परीक्षण गरी गुणस्तर कायम राख्नका लागि सहयोग पुने देखिन्छ”, उहाँले भन्नुभयो, “कसैले पानी परीक्षण गर्न आउनुभयो भनेको खण्डमा हामीले तुरुन्तै गएर पानीको परीक्षण गर्न सक्छौँ ।”

वाटर एम्बुलेन्स आएपछि टाढा टाढा गएर पानीको परीक्षण गर्न सहज भएको उहाँले बताउनुभयो । स्थलगत पानी परीक्षण गरेपछि तत्कालै पिएच, पारा, इसी, एफआरसीलगायत छवटा पानीका पारामितिहरुको नतिजा दिने गरिन्छ । यस्तै अन्य पारामितिहरुको नतिजा चौबिस घण्टाभित्र दिने गरिएको देवले जानकारी दिनुभयो । घुम्ती सेवाका लागि एकजना केमिष्ट र चालक खटिने गरेका छन् ।

प्रकाशित मिति : February 4, 2020 at 12:55 pm