६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

शिक्षामा विविधिकरण आवश्यक छ : अध्यक्ष तिमिल्सिना


२० माघ, चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–६ पारसनगरमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको समापन समारोहमा उहाँले विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा हो भन्दै शिक्षकले तलब मात्रै खाने नभई गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अबको शिक्षाले उत्पादित जनशक्ति कति खपत हुन्छ भन्ने विषयमा समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

अहिले शिक्षक नियुक्तिका क्रममा प्रतिस्पर्धामा आएका भए पनि शैक्षिक गुणस्तर दिन नसक्नु समीक्षाको बिषय बनेको उहाँले बताउनुभयो । निजी क्षेत्रले शिक्षामा दिएको योगदानभन्दा राज्यको योगदान ठूलो भए पनि राज्यबाट सञ्चालित विद्यालयले प्रतिफल दिन नसकेको उहाँले बताउनुभयो । अबको शिक्षा उद्यमशील शिक्षा हुनुपर्ने भन्दै उहाँले प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा विद्यालयको स्वर्ण महोत्सवका अवसरमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १८:०१