१ असार २०८३, सोमबार | Mon Jun 15 2026

१९ माघ, काठमाडौं राजधानीको चाबहिल मित्रपार्कमा सवारी चालक तथा बटुवा दुवैलाई आवागमनमा सकस छ । बौद्ध–गुह्येश्वरी खण्डबाट मित्रपार्क, कालोपुल हुँदै मित्रपार्क, गौशालाबाट मित्रपार्क र चाबहिल स्तूपबाट मित्रपार्क जोडिने विभिन्न सडकले गर्दा मित्रपार्कमा बटुवालाई बाटो काट्न र सवारी चालकलाई सवारी हाँक्न निकै कष्ट भइरहेको छ ।

बटुवा जयवागेश्वरीका पञ्चराम महर्जन भन्छन्, ‘‘यहाँ बाटो काटेर वारपार हुनै कठिन छ, मोटरले धक्का दिइहाल्ला भन्ने संशय छ । केही समयअघि यही क्षेत्रमा सवारीले ठक्कर दिएर बटुवाको मृत्यु भएको थियो ।’’ यी सबैतर्फको निकास सहज बनाउन निकै समय सवारी रोकिराख्नुपर्ने समस्या रहेको खबर गोरखापत्र दैनिकमा छ ।

गौशाला ट्राफिक कार्यालयका निरीक्षक दलराम टमाटाका अनुसार चाबहिलमा खोपानीको पाइप बिछ्याउने कार्यबाट पनि असहजता देखापरेको हो भने मित्रपार्कमा बाटो खाल्डखुल्डी भएर पनि यस्तो भएको हो ।

तर ट्राफिक प्रहरीले धेरैबेर कुर्न पर्खन नपर्ने गरी सहजताका साथ आवागम व्यवस्थित गरिरहेको छ । मित्रपार्क, जयवागेश्वरी चोकमा ट्राफिक बत्ती नभएर पनि असहज अनुभव गरिएको बताउँदै निरीक्षक टमाटाले यहाँ बत्तीको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

मित्रपार्क र गौशाला जयवागेश्वरीमा आकाशेपुलको आवश्यकता रहेको टमाटा बताउँछन् । प्रायः सवारी चालकले गुह्येश्वरीबाट मित्रपार्क तर्फको उकालोमा मोटर चलाउन निकै गाह्रो हुने गरेको बताए ।

प्रकाशित मिति : February 2, 2020 at 7:45 am