नुवाकोटमा राप्रपा र कांग्रेस नेताले बेलायत पठाइदिन्छु भन्दै महिलाको १० लाख ठगे (भिडियोसहित)
१८ माघ, काठमाडाैँ । नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाले एक महिलालाई बेलायत पठाइदिन्छु भन्दै ठगेको सार्वजनिक भएको छ । नुवाकोटकै धनमाया तामाङलाई पूर्व मेयर लामाले बेलायत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको पीडितले बताएकी छिन । उनले ठगेको पैसा फिर्ता गराइदिन अनुरोध समेत गरेकी छिन । लामा राप्रपाका नेता हुन । गत निर्वाचनमा भने उनले नेपाली कांग्रेसका लागि मत मागेको जानकारहरू बताउँछन ।
केहीदिनअघि काठमाडाैँको रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै धनमायाले लामाले ठगेको ९ लाख ५२ हजार रूपैयाँ फिर्ता गराइदिन अपिल गरेकी हुन । उनले भनिन् ‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख ५२ हजार रुपैयाँ ठगी गरे, मेरो पैसा सबैले मिलेर फिर्ता गराइदिनुपर्यो ।’

धनमायाले पैसा फिर्ता गरेर लामालाइ कारबाही गर्न समेत माग गरेकी छिन । उनले आफ्नो आर्थिक अवस्था कमजोर भएपनि विदेश गएर अवस्था सुधार्न सकिन्छ कि भनेर आफन्तसँग सरसापटक गरेर रकम जोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको बताइन् ।पटक पटकको अनुरोधमा लामाले एक लाख मात्र फिर्ता गरेको भन्दै धनमायाले बाँकी रकम जतिसक्दो छिटो फिर्ता दिलाइदिन अनुरोध गरिन ।
लामाले धनमायाको कीर्ते हस्ताक्षर गरेर चार लाख ५२ हजार तिरिसकेको बताउन थालेको भन्दै उनले निस्पक्ष छानविन गरेर दोषी माथि कडा कारबाही गर्न पनि माग गरिन । धनमायाले दुइ पटकमा ५०–५० हजार गरी एक लाख रूपैयाँमात्र पाएको बताइन । धनमायाका अनुसार कीर्ते हस्ताक्षर गर्ने कार्यमा नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलको विदुर नगर इकाई सदस्य आशिष थापा समेत संलग्न रहेका छन ।
प्रकाशित मिति : February 1, 2020 at 10:36 am









