३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

नेपाल आउन लागेका बलिउड अभिनेता करणवीरलाई दिल्ली विमानस्थलबाटै फर्काइयो

काठमाडौँ। सुटिङका लागि नेपाल आउन लागेका बलिउड अभिनेता करणवीर बोहरालाई दिल्ली विमानस्थलमै रोकिएको छ । परिवारका साथ नेपाल आउन लागेका उनलाई दिल्ली विमानस्थलमै रोकिएको ट्वीटरमा लेखेका छन् ।

आधारकार्ड बोकेर नेपाल घुम्न निस्केको भन्दै उनलाई नेपाल आउन नदिइएको हो । भारत सरकारको नियम अनुसार आधार कार्डलाई भ्रमण कागजात मानिँदैन । नियम अनुसार हवाईयात्राका लागि यात्रीसँग अनिवार्य पासपोर्ट हुनुपर्छ । यो प्रावधान हवाइयात्राका लागि मात्र हो, सडक यात्राको हकमा भने यो लागु हुँदैन । नेपाल आउन रोकिएपछि करणवीरले ट्विट गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘नेपाल जान लाग्दा दिल्ली विमानस्थलमा डिपोर्ट गरियो । आधारकार्ड लिएर यात्रा गर्ने अनुमति छैन । नेपाल सरकारले यसको अनुमति दिएको छ भने मलाई किन डिपोर्ट गरियो ? एयर इन्डियाले मुम्बईबाट उडान अनुमति दिइसकेपछि यहाँ किन रोकियो ?’ करणवीरले ट्विट गरेका छन् । एयर इन्डियाले यसको जवाफ करणवीरलाई उनकै ट्विटमा दिएको छ । एक फाइलसहित गरिएको पोस्टमा उसले नेपाल यात्रा गर्न अनिवार्य पासपोर्ट हुनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार १२:४०