१ असार २०८३, सोमबार | Mon Jun 15 2026

चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण

१७ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।

पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गर्नुभएको हो । प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र शहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताउनुभयो ।

पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । प्रमुख शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भन्नुभयो, “पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।”

त्यसैगरी कामपाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नयाँ पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

प्रकाशित मिति : January 31, 2020 at 11:49 am