१ असार २०८३, सोमबार | Mon Jun 15 2026

प्रधानमन्त्रीबाट शहीदप्रति श्रद्धाञ्जलि अर्पण

१६ माघ, काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरीमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

 

शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो । कामपाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।

चार शहीदको पूर्णकदको शालिक निर्माण

कामपाले चार शहीदको पूर्णकदको सालिक प्रतिस्थापन गरेको छ । राणा शासन विरुद्धमा लागेको भन्दै विसं १९९७ मा मृत्युदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक निर्माण गरिएको हो । गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । यस वर्ष तीन जना शहीदको शालिक प्रतिस्थापन गरिएको हो । सबै शहीदको शालिक महेश तुलाधरले निर्माण गर्नुभएको हो ।

प्रकाशित मिति : January 30, 2020 at 3:17 pm