३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ

१६ माघ, काठमाडौँ । आफ्नै साथीको हत्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नं कोठामा सँगै बसेका बेला मदिराको बोतलले हानेर हत्या गरी फरार भएका उनलाई गएराति लहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

फाइल फाेटाे

उक्त घटना यही माघ ६ गते भएको थियो । घटना घटाएर फरार भएका मिया रक्सौल, काँकडभिट्टा हुँदै पुनः नेपाल फर्किएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । हत्या आरोपी मियाँ मृतक अहमदका भाइले सञ्चालन गरेको ओसन ट्राभल टुर्स प्रालिका व्यवस्थापक भएको खुल्न आएको छ । उनले होटलको कोठामै रहँदा शुरुमा बोतलले टाउकोमा प्रहार गरेको र त्यसपछि त्यही सिसाले घाँटीमा हानेर मारेको देखिएको परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

त्यसपछि उनले शवलाई सिरकले ओढाएर मानिस सुतेजस्तो बनाई छाडेर भागेका थिए ।  प्रहरीका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोका नियमित ग्राहक थिए । यसपालि उनीहरु यही माघ ६ गते पछिल्लोपटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को बी र सीमा बसेर उनीहरु आएको खुलेको छ ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट ७ गते हत्या गरेको र प्रहरीलाई भने ८ गते मात्रै खबर आएको थियो । उनीहरु होटलमा दैनिक १५ सयमा भाडा तिर्नेगरी बसेका थिए । प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी चार दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।

प्रकाशित मिति : January 30, 2020 at 12:27 pm