१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

यही वर्षभित्र थप १४०० मेगावाट विद्युत

१६ माघ, काठमाडौं । चालू आवभित्र १४०० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ । यो वर्ष विभिन्न ५० आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यी आयोजनाको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि हालको मागभन्दा बढी विद्युत उत्पादन हुनेछ । बढी हुने विद्युत बेच्‍न प्राधिकरणले तयारीसमेत गर्न लागेको खबर राजधानी दैनिकमा छ । निर्माणाधीन ५० आयोजना यसै वर्ष सम्पन्‍न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् । उनले भने, ‘यो वर्ष १ हजार मेगावाटभन्दा बढी विद्युत केन्द्रीय प्रणालीमा जोडिँदै छ । हामीले सबै ठाउँमा प्रसारण लाइन निर्माण गरी सकेका छैनौं, यो अवस्थामा विद्युत उत्पादनसँगै चुनौती थपिएको छ ।’

प्राधिकरणका अनुसार हाल नेपालमा ‘पिक आवर’मा ११६८ मेगावाट विद्युत माग छ । जसमध्ये प्राधिकरणबाट ४८१ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिएको छ । निजी क्षेत्रबाट ३२० मेगावाट र भारतबाट ३६७ मेगावाट विद्युत आयात गरी विद्युत आपूर्ति गरिँदै आएको छ । यो तथ्यांकलाई आधार मान्‍दा नेपालमा हाल जम्मा उत्पादन ८०१ मेगावाट छ । चालू आवमा १४०० मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिने हो भने जम्मा उत्पादन १८०५ मेगावाट पुग्छ, जुन नेपालको मागभन्दा करिब ६३५ मेगावाट बढी हो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०७:४८