१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मुद्दती निक्षेपमा साढे १० करोड लगानी गर्दै राष्ट्र बैंक

१६ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा साढे १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यसअघि पनि पटकपटक गरी १० अर्बभन्दा बढी रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिसकेको राष्ट्र बैंकले थप यो रकम लगानी गर्न लागेको हो ।

आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा एक वर्षे अवधिका लागि लगानी गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा आठ करोड ३८ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा एक करोड ५८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ५२ लाख रुपैयाँ गरी कुल १० करोड ४८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आगामी फागुन १ देखि २०७७ फागुन १ सम्मका लागि मुद्दती निक्षेप यो रकम राख्न लागेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी माघ १७ सम्म राष्ट्र बैंकमा बोल कबोल पेस गनुपर्नेछ ।

बैंकले यही माघ १७ सम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बुधबार एक सूचनामार्फत आग्रह गरेको छ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम हुनुपर्ने जनाएको खबर गोरखापत्र दैनिकमा छ ।

मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०७:१३