पक्राउ पुर्जी जारी भएका कांग्रेस सांसद बहादुरसिंह लामाविरुद्ध मुद्दा दायर
१६ माघ, काठमाडाैँ । कांग्रेस सांसद बहादुरसिंह लामासहित चारजनाविरूद्ध जिल्ला वन कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेकाे छ । सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन गरेपछि प्रतिनिधिसभाका सदस्य लामासहित चारविरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले यसअघि पक्राउ पुर्जी जारी गरेको थियाे ।
पूर्वी मकवानपुरको बकैया ७ स्थित कालीवन सामुदायिक वन क्षेत्रभित्र अवैध ढुंगागिटी र बालुवा उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेशराम महरालाई डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल नेतृत्वको टोलीले गत पुस १३ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा काली वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पनि वन कार्यालयले पक्राउ गरेको थियाे । अदालतमा मुद्दा दायर भएसँगै महरा र स्याङ्तान धराैटीमा छुटेका छन । सांसद लामासहित नुवाकोटकै पञ्चकन्या ५ का निर्मलप्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरेलाई फरार सूचीमा राखेर अदालतले कारबाही अघि बढाएकाे जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पाैडेलले जानकारी दिए ।
अनुगमनका क्रममा चालकसहित एक्साभेटर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त काम हिमडुङ एण्ड थोकर कन्सट्रक्सन प्रालि, टोखा नपा ७ धापासी काठमाडौंको रहेको पत्ता लागेको थियो। त्यसपछि वन कार्यालयले पुस १५ गते वन कार्यालयले सम्पर्कमा आउन पत्र लेखेको थियो।
जिल्ला अदालतबाट दोस्रोपटक म्याद थप हुँदासमेत कम्पनीका कुनै व्यक्ति सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा पुस २८ गते कम्पनीका तीनैजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजी कार्य अघि बढाएकाे थियाे । तर खाेजी गर्दा पनि नभेटेपछि मुद्दा अघि बढाइएकाे प्रमुख पाैडेलले बताए ।
प्रकाशित मिति : January 30, 2020 at 9:35 am









