३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

साहित्यले समाजलाई रुपान्तरण गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

११ माघ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समाजमा देखिएको प्रगतिवादी धारलाई पछ्याउनुपर्ने बताउनुभएको छ । साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित ‘डिलको डोब’ उपन्यासको आज यहाँ सार्वजानिक गर्दै उहाँले गीत, सङ्गीत र साहित्यले समाजलाई रुपान्तरण गर्ने हुँदा साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्छ भन्नुभयो ।

“समाजवादका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो, “समाजको प्रतिविम्ब बनेर साहित्यले राष्ट्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।” लेखक महेश पौडेलले लेखकले शक्तिको बलमा महिलामाथि गरिने हिंसालाई छर्लङ्ग पार्नु खोजेको बताउनुभयो । पत्रकार यशोदा तिम्सिनाले महिला अधिकारका पक्षमा उपन्यासले सशक्त आवाज उजागर गरेको बताउनुभयो ।

प्राज्ञ माया ठकुरीले समाजमा प्रतिष्ठित ठानिएका यौन दुराचारीलाई उपन्यासले नङ्ग्याएको टिप्पणी गर्नुभयो । उपन्यास श्रष्टा पराजुलीले पीडाको पराकाष्ठा मात्र नभएर पीडा बोकेकी नारीको सफलताको कथालाई व्यक्त गर्न खोजिएको बताउनुभयो । “हिंसालाई जितेर कसरी व्यक्तिगत सफलता हासिल गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएकी छु”, उहाँले भन्नुभयो ।

  

प्रकाशित मिति : January 25, 2020 at 6:32 pm