बालबालिकालाई सही र गलत छुवाइको ज्ञान
११ माघ, काठमाडौं । साना बालबालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् । अनुसन्धानका विविध निष्कर्षअनुसार बालिकामाथि यौन हिंसा गर्ने प्रायः ठूला उमेरका आफन्त नै हुने गरेको पाइन्छ ।
त्यसैले बालिकालाई बाल्यकालदेखि नै अरूसँगको सम्बन्ध र यौनसम्बन्धी शिक्षाको ज्ञान दिन अति नै आवश्यक ठानिन्छ । अभिभावकले नै आफ्ना बालिकालाई यस्ता कुराको शिक्षा दिन आवश्यक रहेको बालमनोविज्ञ बताउँछन् ।

बालमनोविज्ञ गङ्गा पाठकका अनुसार बुबाभन्दा पनि आमाले आफ्ना सन्तानसँग केही समय दिएर यस्ता विषयमा खुलेर कुरा गर्नुपर्छ अनि मात्र बालिकाले सही र गलतका बारेमा बुझ्न सक्छन् । ‘‘यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरूमा मात्र देख्छौं,’’ उनले गुनासो गर्दै भनिन्, ‘‘प्रायः घरमा किताबी ज्ञानलाई मात्र बढी महत्त्व दिने गरिन्छ ।”
समयअनुसार बालबालिकालाई हामीले सही र गलत छुवाइ (गुड टच र ब्याड टच) बारे बताउनु आवश्यक हुन्छ । उनको विचारमा बच्चालाई सधैं बच्चाजस्तो भएर सम्झाउनुपर्ने हुन्छ । महिला, बाललबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आव ०७५/७६ मा जबरजस्ती करणीबाट देशभर एक ४२० बालिका पीडित भएको घटना दर्ता भएको खबर गोरखापत्र दैनिकमा छ ।
अघिल्लो वर्ष यो सङ्ख्या ९९५ थिए । जबरजस्ती करणीबाट पीडित हुने बालिकामध्ये २९८ (२०.९ प्रतिशत) जना १० वर्षमुनिका छन् । यता पाटन अस्पतालका मनोचिकित्सक विभागका प्रमुख डा. रवि शाक्यले भने, ‘‘छोरी घरबाहिर मात्र होइन घरभित्र पनि सुरक्षित छैनन् । जसले गर्दा बालिका मानसिक रोगको सिकार हुनुपरेको छ ।’’
उनले विद्यालयको शिक्षामा पनि ‘गुड टच र ब्याड टच’ बारे बताउनुपर्ने सुझाव दिँदै सबैभन्दा ठूलो गल्ती भनेको यौन शिक्षाबारे ज्ञान नदिनु बताए । विद्यालयमा बच्चालाई नाता सम्बन्धको मर्यादाबारे बताइन्छ । तर महत्त्वपूर्ण यौन शिक्षा तथा सही र गलत छुवाइबारे जानकारी दिन आवश्यक पर्ने सुझाव उनको छ ।
बाल मनोपरामर्शदाता इन्दु ढुङ्गानाले बच्चालाई यस्ता शिक्षाका बारेमा सम्झाउन एकान्त भन्दा पनि सबै भएको ठाउँमा सम्झाउनुपर्ने जानकारी दिँदै यसो गर्दा उनीहरूले सही र गलत छुवाइबारे राम्रोसँग सम्झने बताइन् । उनले बच्चालाई नै देखाएर कता छुँदा के हुन्छ भने संवेदनशील अङ्ग भनेको कुन हो भन्ने ज्ञान दिनुपर्ने बताइन् ।
प्रकाशित मिति : January 25, 2020 at 6:37 am







