सोनाम ल्होसार मनाइँदै
११ माघ, काठमाडौं । तामाङ समुदायको महान् चाड सोनाम ल्होसार आज हर्सोल्लासका साथ मनाइँदै छ । यसका लागि ल्होसार मनाउने समुदायका हरेक घरमा नयाँ लुगाफाटा किन्नेदेखि घर टोलको सरसफाइ, खानपानको व्यवस्थापन, पुरानो हिसाबकिताब मिलानसम्मका काम सकिएको छ । यसलाई नयाँ वर्षका रुपमा पनि मनाइन्छ ।
यद्यपि सरकारले ल्होसारका अवसरमा पहिले दिँदै आएको बिदा भने कटौती गरेको छ । आज र भोलि (शनिबार र आइतबार) टुँडिखेलमा सोनाम ल्होसार २८५६ (जिवा र नाम्युङ ल्हो) तथा तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिँदै छ ।
ल्होसार भनेको नयाँ वर्ष हो । तामाङ समुदायको यस दिन वर्ग (ल्हो) बदलिन्छ । समुदायको वर्ष गणना नै वर्गअनुसार हुन्छ ।

ल्होसारका अवसरमा आज टुँडिखेलमा आयोजना हुने कार्यक्रममा खाना, वेशभूषा तथा पुस्तक प्रदर्शनी पनि गरिने भएको छ । साथै कार्यक्रममा तामाङ मौलिक एवं लोपोन्मुख नृत्य, गीतको प्रस्तुतिको तयारी छ ।
प्रकाशित मिति : January 25, 2020 at 6:29 am









