मोटरसाइकलमा सवार दुवैलाई हेल्मेट अनिवार्य, जथाभावी बाटो काटे हजार रुपैयाँ जरिवाना !
८ माघ, काठमाडौं । सरकारले सडक सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरे ३ हजार, निषेधित क्षेत्रमा हर्न बजाए दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाए पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई एक हजार, मादक पदार्थ सेवन गरी सवारी चलाए पाँच हजार, तर त्यस्तो सवारी सार्वजनिक भए १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।
त्यसैगरी मिटर ट्याक्सीले मिटरमा जान नमाने १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भए मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्ने खबर राजधानी दैनिकमा छ ।
यस्तै, मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था गरेको छ । हाल यो विधेयक छलफलकै क्रममा छ । सरकारले सरोकारवालासँग पनि छलफल गरी विधेयक ल्याएको जनाएको छ ।
प्रकाशित मिति : January 22, 2020 at 7:48 am







