‘सरकारले बास दियो, अब गासको पनि व्यवस्था मिलाओस्’
८ माघ, कञ्चनपुर । सानो झुपडीमा जीवनका ५२ वर्ष गुजारेका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ । अर्काको घरमा २० वर्ष हलो जोतेर कठिन जीवन बाँचेका उनलाई हातमा लालपुर्जा पर्दा पनि पत्याउन गाह्रो भयो ।
घरजग्गाविहीन भएर जीवनभर अर्काको हलो जोतेर भोगेको पीडा उनले आफ्नै घरमा बिसाउन पाएका छन् । उनले घर मिल्यो, सुख भयो । पहिलाभन्दा धेरै राम्रो छ, हलिया हुँदा दबाब थियो, त्यहाँबाट छुटकारा भएर यहाँ आउँदा ठीक लागेको बताए ।
उनले डडेलधुराको डोटीबटाल गाउँमा दैनिक एक माना चामलका भरमा २० वर्ष हलो जोतेका थिए । पुस्तौँदेखि उनका बुबा र बाजे सबैले हलो जोतेका हुन् । हँसिलो मुहारमा उनले लालपुर्जा हातमा पर्दा निकै खुसी लागेको प्रतिक्रिया दिए । उनको थप अपेक्षा छ, ‘सरकारले बास दियो अब गासको समस्या पनि समाधान गरिदेओस् ।’
सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा १९ को बागफाँटामा एकीकृत बस्ती निर्माण गरी मुक्त हलियाको पुनर्स्थापना गर्दा बस्तीमा खुसी छाएको खबर गोरखापत्र दैनिकमा छ । घरजग्गाविहीन हलिया परिवार आफ्नै घरमा बस्न पाउँदा निकै खुसी देखिन्थे । बस्ती हस्तान्तरणको औपचारिक समारोहमा पुग्दा ललिता लोहारको परिवारमा पनि विशेष खुसी छाएको थियो । उनले खुसी व्यक्त गर्दै बस्ने बास भयो, खानेपानी र ट्वाइलेट भएको बताए । हलिया हुँदाखेरी त जिन्दगी बिजोग रहेको बताए ।
एउटा कोठा मात्र भएको जस्ताको झुपडी चार जनाको परिवारले गुजारा गर्नुपरेको तीतो यथार्थ पोख्दै उनले पहिला एउटै कोठामा डल्लो पर्नुपर्थ्यो । अहिले त राम्रो छ, केटाकेटीले खेल्ने ठाउँ पाएको बताए ।
उनीसँग अहिले तीन कोठाको घर, आँगन, खानेपानी र शौचालयसमेत छ । उनले दुई कोठामा पलङ राखेका छन् । पलङमा ओछ्यान चिटिक्क मिलाएका छन् । घर सफा छ, दुईवटा साना छोरा आँगनमा उफ्रिदै खेलिरहेका थिए, उनी दंग देखिन्थे । एउटा कोठामा गुजुल्टिएको विगत भुलेर खुसीसाथ छुट्टै स्ल्याब राखेको भान्सामा पकाउँदा घर अझ सफा भएको छ ।

७ दशकमा टेकेका लालमनी सार्कीले पनि पहिलोपटक आफ्नो घरमा बास पाएका छन् । उनले हलिया हुँदाको दुःख पोख्दै उठ् भने उठ्ने बस् भने बस्ने, त्यति बेलाको दुःख बयान गर्न नसक्ने बताए । ‘हामीलाई गुलाम, गोरु र ग्वाला भन्थे,’ उनले सुनाए । ६ जनाको परिवारको निकै दुःखकष्टसँग गुजारा गरेका उनलाई अहिले सुख पाएको अनुभव भएको छ ।
सरकारले गत वर्ष कञ्चनपुरमा मात्र एक हजार ७८५ हलिया परिवारको पुनर्स्थापना गरेको थियो । बागफाँटामा ३२ परिवारका लागि बस्ती निर्माण गरिएको हो । गत वर्ष निर्माण गरिएको बस्तीलाई शनिबार हस्तान्तरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बस्ती हस्तान्तरण गरेकी हुन् ।
प्रकाशित मिति : January 22, 2020 at 7:06 am







