हिमपातले डेढ महिनादेखि सडक अवरुद्ध
८ माघ, सिमकोट । लामो हिमपातले कर्णाली करिडोरअन्तर्गत सिमकोट-हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् ।

अवरुद्ध यातायात सेवाका कारण स्थानीयको यात्रा कठिन भएको नाम्खा गाउँपालिका ५ का लामाक्याप लामाले बताए । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । काम परे हिँडेर जानुको विकल्प नभएकाले कामै नपरोस् भन्ने उनको चाहना छ ।
चीनको ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोटसम्म सञ्चालनमा रहेको सडक अवरुद्ध हुँदा उपभोग्य सामानदेखि विकास निर्माणका सामान ढुवानी हुन नसकेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।
हुम्लामा गत मंसिर १२ गतेबाट हिमपात सुरु भएको थियो । यो क्रम पटक-पटक जारी रहँदै आएको छ । यस सडकमा टिपर, बोलेरो र ट्याक्टर चल्ने गरेका थिए । ९५ किमि दूरी रहेको यो सडकमा सबै किसिमका गरी छ दर्जनभन्दा बढी यातायातका साधन गुड्दै आएका थिए ।
सवारीसाधन अहिले गाउँमै थन्किएको खबर गोरखापत्र दैनिकमा छ । यो सडक खण्डको उच्च क्षेत्रमा चारदेखि पाँच फिट हिउँ जमेको बताइएको छ । भारी हिमपात पन्छाएर गाडी गुडाउन सकिने अवस्था नभएको चालकहरु बताउँछन् ।
सडकको स्तरोन्नतिका लागि १० स्थानमा काम भइरहेको थियो । अहिले यो पनि बन्द भएको सिमकोट हिल्सा सडक आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए ।
प्रकाशित मिति : January 22, 2020 at 6:37 am







