सैनिक सहचारी थप्न प्रस्ताव
७ माघ, काठमाडौं । नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारी/सल्लाहकार थप गर्न सरकारसँग प्रस्ताव गरेको छ । सेनाले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिका गरी ६ मुलुकमा सैनिक सहचारी र राष्ट्रसंघमा सुरक्षा सल्लाहकार राखेको छ ।
सेनाले रक्षा मन्त्रालयमार्फत थप पाँच स्थानमा सैन्य सहचारी तत्काल आवश्यक रहेको र मुलुकको कूटनीति समन्वयमा पनि मद्दत पुग्ने भन्दै माग गरेको हो ।
राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रमध्ये फ्रान्स र रसियामा नेपालको सैन्य सहचारी नभएकाले त्यहाँ तत्काल थप गर्नुपर्ने माग सेनाको छ । रसियामा पहिले सैनिक सहचारी थियो तर पछि काटिएको भन्दै थप्न आवश्यक रहेको सेनाको प्रस्ताव छ ।
यस्तै युरोपेली महासंघ (ईयू) को मुख्यालय रहेको ब्रसेल्स र अफ्रिका हेर्न दक्षिण अफ्रिका वा इजिप्टमध्ये एक मुलुकमा सैन्य सहचारी आवश्यक रहेको पनि सेनाको जिकिर छ । सैन्य अभ्यास गर्ने मुलुकमध्ये श्रीलंकामा पनि नेपालको सैनिक सहचारी चाहिने तर्क नेपाली सेनाको छ ।

प्रकाशित मिति : January 21, 2020 at 7:35 am







