३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

५ जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

६ माघ, लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् ।  पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को आयोजना निर्माणाधीन छन् । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीले १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् ।

ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको बताइएको छ । यी आयोजना निर्माण सम्पन्नपश्चात् १२५ मेगावाट बिजुली उत्पादन हुनेछ । यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण अब एक वर्षभित्र पूरा हुने अवस्थामा छन् । यी आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् याेजना निर्माण गरिरहेको छ । गत एक वर्षदेखि आयोजनाको निर्माण कार्यलाई शुरु भइरहेको छ । दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ ।

दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल रु आठ अर्ब ८० करोड लागत अनुमान लगानीमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना रु तीन अर्ब ८६ करोड लगानीमा निर्माण भइरहेको छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी छ ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको कूल रु चार अर्ब ६३ करोड लगानीमा यस आयोजना निर्माण थालिएको हो । दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत्् कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजना करिब रु दुई अर्ब ३९ करोडको लागतमा निर्माण भइरहेको आयोजनाले जनाएको छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना रु ८० करोडभन्दा बढी लगानीमा निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : January 20, 2020 at 11:39 am