३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

आज माघे संक्रान्ति : कहाँ कसरी मनाइँदै ?

१ माघ, काठमाडौं आज माघ १ गते अर्थात् माघे संक्रान्ति । हिन्दु अनुयायीहरु यसलाई सबेरै नदी, तलाउजस्ता पवित्र स्थलमा स्नान गरी देवता र पितृलाई तर्पण गर्दै मनाइरहेका छन् ।

आजको दिनमा ब्राह्मण, पुरोहितबाट मैना सुन्ने चलन पनि छ । मैना सुनाउनुको मुख्य उद्देश्य अयन, ऋतु, तिथि र बार आदिको जानकारी दिनु हो ।

कसले कसरी मनाउँदै
सनातन धर्मावलम्बीले माघे/मकर संक्रान्ति मनाइरहँदा थारु समुदाय नयाँ वर्षका रूपमा माघीको उत्सव मनाइरहेका छन् । यस्तै, काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’मा रमाउँदै छ । तराईमा तिला संक्रान्ति मनाउने परम्परा छ ।

माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो । उनीहरुले यस पर्वलाई माघे सकरातीका रुपमा मनाउँछन् । मगर समुदायमा आजको दिनमा चेलिबेटी पुजिन्छ । लिम्बू समुदायले माघे संक्रान्तिलाई कक्फेक्‍वा तङनामको रुपमा मनाउँछन् । उनीहरुले आजको दिनलाई येले संवतका रुपमा नयाँ वर्ष मान्दछन् ।

भक्तपुरका बौद्ध मार्गीले भने सम्यक ‘महादान’ पर्वका रुपमा आजको दिनलाई मनाउँदै छन् । सौरमानको पात्रोअनुसार वर्षमा वैशाखदेखि चैतसम्मका बाह्र महिना छन् । ज्योतिषशास्त्रअनुसार यी महिनामा मेषदेखि मीनसम्मका बाह्र राशिमा सूर्य रहने गर्छ । सूर्यले एक राशिमा एक महिना बिताउने गर्छ । यसरी नै सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ ।

आजको दिन सूर्य धनुबाट मकर राशिमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति भनिएको हो । आजको दिनमा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी खाने चलन छ ।

पहाडी भेकमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार खाइन्छ । तराई–मधेस क्षेत्रमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ । माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसोले कठयांग्रिएको शरीरलाई उष्णता प्रदान गर्नु मानिन्छ ।

आजको दिन घाममा बसेर तेल लगाउने चलन पनि छ । आजकै दिनमा नवलपरासीको त्रिवेणी, रिडी क्षेत्रमा रहेको रुरु तीर्थस्थल, चितवनको देवघाट, नुवाकोटको बेत्रावतीमा मकर स्थान गर्नेको घुइँचो लाग्छ । यस्तै झापाको कनकाई नदी किनार, इलामको माइबेनी, काठमाडौंको शंखमूल, वागमती आदि क्षेत्रमा पनि श्रद्धालुको घुइँचो लाग्छ ।

मनाइँदै सम्यक दान

तारुकामा २१ हल गोरु जुध्दै

काठमाडौंमा १० करोडको तरुल

प्रकाशित मिति : January 15, 2020 at 8:38 am