किन पेचिलो बन्दै छ सभामुख चयन ?
२८ पुस, काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ ।
दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए पनि निर्णय हुन सकेन ।
शनिबार सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो तर तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्षले निर्णयबारे जानकारी दिन पुनः आइतबार बिहान उनलाई बैठकमा बोलाएका थिए । पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद् परेको खबर गोरखापत्र दैनिकमा छ ।
उपसभामुखको प्रतिक्रियापछि दुई अध्यक्षले पुनः पार्टी निर्णयमा सहयोग गर्न आग्रह गरेका थिए । निर्णयबारे तुम्बाहाङ्फेले आफ्नो धारणासमेत दुई नेतालाई सुनाएकी थिइन् । परामर्श बैठकमा दुई अध्यक्षलाई पार्टी निर्णयबारे आफ्नो जवाफ दिएको भेटपछि तुम्बाहाङ्फेले बताइन् ।

राजीनामा नदिने अडान
पार्टी निर्देशनअनुसार उपसभामुखको निर्णय आएको भए आइतबारको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन गर्ने तयारी सत्तारूढ दलको थियो तर उपसभामुखले राजीनामा नदिने अडान कायमै राखेपछि पुनः बैठकको कारबाही अघि नबढाउने निधो भयो । अध्यक्षद्वयले नै उपसभामुखसँगको परामर्शपछि बैठक केही दिन स्थगित गर्न आग्रह गरेपछि बैठक स्थगन गरिएको हो । अध्यक्षद्वयसँगको भेटमा उपसभामुखले पार्टीको निर्णयबारे जानकारी लिएकी थिइन् । आफूले पार्टी सदस्यबाट राजीनामा दिइसकेको अवस्थामा निर्देशन कार्यान्वयनमा बाध्य नरहेको पनि स्पष्ट पारेकी थिइन् ।
सूचना टाँसेर स्थगित
सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा प्रतिनिधि सभा आइतबार पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक प्रारम्भ भएपछि त्यसयता कुनै पनि बैठक बस्न सकेको छैन । हिउँदे अधिवेशनको एक महिना सदन कुनै पनि कार्यसूचीबिना नै स्थगित हुने निश्चित भइसकेको छ । अधिवेशन प्रारम्भ भएको माघ ४ गते एक महिना पुग्दै छ ।
प्रकाशित मिति : 06:43







