निजी विद्यालयले बढाएको शुल्क सरकारले फिर्ता गराउने, विद्यार्थी आन्दोलन फिर्ता
२३ वैशाख, काठमाडौँ । सरकारले निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउन अनुगमन समिति गठन गर्ने भएको छ । शनिबार शिक्षामन्त्री, विद्यार्थी संगठनका प्रतिनिधि, शिक्षा विभागका प्रतिनिधि, प्याव्सन, एनप्याव्सनका अध्यक्ष, अभिभावक संघका प्रतिनिधि उपस्थित बैठकले निजी विद्यालयले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्दे्शिका २०७२ लाई कार्यान्वयन गर्दै गैरकानुनी रुपमा बढाइएको शुल्क फिर्ता वा समायोजन गर्ने सहमति गरेको छ ।

सहमतिसँगै विद्यालयले बढाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् । सहमतिसँगै सरकारले अब विद्यालयले जथाभावी शुल्क लिएको भए फिर्ता गराउन समिति गठन गर्ने भएको हो । यस्तै बैठकले विद्यालय हाताभित्र झोला, विद्यालय पोशाक, पाठ्यपुस्तक बिक्रिमा पनि तत्काल रोक लगाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : May 6, 2018 at 9:35 am









