१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेतृत्वको कमजोरी सच्याउँदै सहमतिका साथ महाधिवेशनमा जानुपर्छः सभापति केसी

२३ पुस, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले पार्टी नेतृत्वको कमजोरी सच्याउँदै सहमतिका साथ महाधिवेशनमा जानुपर्ने बताएका छन । मंगलबार पार्टीका जिल्ला सभापतिहरूको भेलामा १९ मिनेट लामो सम्बोधन गर्दै सभापति केसीले वर्तमान नेतृत्वले बिगारेको पार्टीको नीति र थिति दुबै सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताएका हुन ।

सभापति शेरबहादुर देउवा निकट बाहेकका सभापतिहरूको भेलामा उपस्थित रहेको केन्द्रीय नेतृत्वलाइ समेत सचेत गराउँदै सभाति केसीले हिजो धमाधम गल्ती गर्दा चुप लागेर बस्ने र अहिले जिल्ला सभापतिहरूसँग गुहार माग्ने तरिका पनि बेठिक रहेको बताए । उनले भने ‘संसदीय बोर्ड ११ बाट २५ बनाउँदा महासमितिको निर्णय उल्टाउँदा, विभाग २८ बाट ४७ पुर्याउँदा र एकतर्फी रूपमा  विधानको धारा निलम्बन गर्दा समेत चुप लागेर बस्ने तपाइहरूले पनि आत्माआलोचना गर्नुपर्छ ।’

पार्टीको विधान मिचेको विषयमा चर्को बिरोध गर्दै सभापति केसीले यसअघि देखिनै नेतृत्वको कार्यशैलीको चर्को रूपमा आलोचना गर्दै आएका छन । उनले पछिल्लो पटक एकपछि अर्को गर्दै सार्वजनिक भएका ठूला भ्रष्टाचारका काण्डहरूमा सरकारले सुक्ष्म रूपमा अनुसन्धान गरी दोषीलाइ उम्किन दिन नहुने बताए ।

वर्तमान सरकारले जनताको काम गर्न नसक्ने पुष्टि भैसकेको भन्दै सरकारका मन्त्रीहरू नै भष्ट्राचारमा लिप्त भएको बताए । उनले सरकारी यति समूहलाइ दिएको जग्गामा अर्बाैँ भ्रष्टाचार भएको भन्दै अख्तियारले छानविन गर्नुपर्ने बताए । सुचना प्रविधि विधेयकका समेत कतिपय बुँदा अापत्ति जनक रहेको भन्दै सभापति केसीले सरका अधिनायकवादी बाटोमा अग्रसर भएको बताए ।

प्रकाशित मिति : 12:20