१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

संविधानको भावना र संघीयताको मर्म अनुसार प्रदेश ३ को राजधानी नुवाकोट हुनुपर्छः सांसद मैनाली

२१ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रदेशसभा ३ का सांसद बद्री मैनालीले संविधानको भावना र संघीयताको मर्म अनुसार प्रदेश ३ को राजधानी नुवाकोट हुनुपर्ने बताएका छन । प्रदेशसभाको बैठकमा नुवाकोट स्थायी राजधानी हुनुपर्छ भनेर प्रस्ताव समेत पेश गरेका सांसद मैनालीले नेकपाको प्रदेश ३ को संसदीय दलको बैठकमा संविधानको भावना र संघीयताको मर्म सबैले स्वीकार गर्नुपर्ने बताउँदै ऐतिहासिक तथा सामारिक महत्वको नुवाकोटमा राजधानी बनाउँदा प्रदेशले समृद्धिको यात्रा अझै मजबुद बनाउन सक्ने बताए ।

उनले प्रदेशसभाको सार्वभाैम अधिकारको प्रयोग गर्दै सबै सांसदहरूले नुवाकोट स्थायी राजधानी बनाउने पक्षमा मतदान गर्नेमा विश्वास व्यक्त गरे । जनवादी केन्द्रीयता भएको पार्टीले गरेका निर्णय हामीले मान्नुपर्ने भन्दै सांसद मैनालीले प्रदेश ३ को राजधानीको विषयमा केन्द्रले प्रदेशलाइ विवेक प्रयोग गर्नदिनुपर्ने बताए । नेकपा संसदीय दलको बैठकमा बोल्ने केही बाहेकका सांसदले नुवाकोट वा काभ्रेमा स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिएका छन । उनीहरूले सर्वसम्मतले राजधानी तोक्नु पर्ने बताए ।

नेकपाका सांसद मैनाली ।

यसैबीच नेकपाका सांसदहरूको बीचमा प्रदेशको नाम र राजधानीको विषयमा एकमत नभएपछि प्रदेशसभाको बैठक सोमबार कार्यविधि पारित मात्र गरेर स्थगित गरिएको छ । पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको छ । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्न नेकपा प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।

सोमबार नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल प्रस्तावक र नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र विवेकशील नेपालीका रमेश पौड्याल समर्थक रहेको प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि बैठकमा पेश भएको थियो । उक्त कार्यविधि सर्वसम्मतिले पारित भएको छ ।

प्रकाशित मिति : 21:48