राष्ट्रियसभा सदस्य चुनाव : मनोनयपत्र दर्ता भोलि
१९ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने चुनावका लागि भोलि (आइतबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगकाअनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।
यसका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको फोटोकपी, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
महिला, दलित वा अल्पंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । अरुका लागि धरौटी बापत १० हजार रुपैयाँ लाग्ने आयोगले जनाएको छ ।

मनोनयनको औपचारिक पत्र, दलित, अल्पसंख्यक वा अपांगता भएका समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेस गर्नुपर्नेछ ।
प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचनमन्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ सदस्यको पदावधी फागुन २० गते सकिँदै छ । त्यसमध्ये १८ जना निर्वाचनबाट चयन हुनेछन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
राष्ट्रिय सभामा उम्मेदवार बन्न १० हजार धरौटी !
प्रकाशित मिति : 09:11







