१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

राष्ट्रिय सभामा उम्मेदवार बन्न १० हजार धरौटी !

१९ पुस, काठमाडौं राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नेले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको चुनावी तालिकाअनुसार पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदै छ ।

माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको बताउँदै उम्मेदवारले आ–आफ्नो प्रदेशका निर्वाचन अधिकृतको कार्यालय मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको जानकारी दिए ।

उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको फोटोकपी, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर बुझाउनुपर्नेछ । तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेश भित्रका गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : 08:18