७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

चोभार-दक्षिणकाली सडक : ठेकेदारको लापरबाही, निर्माण सुस्त

१९ पुस, काठमाडौं काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मंसिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन । सडक निर्माण नहुँदा पर्यटनको एक महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ ।

संघीय राजधानी काठमाडौं र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेको यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मङ्सिरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले निर्माण कार्य भने कछुवा गतिमा अगाडि बढेको छ । काम नगर्नेले उल्टै अनेक बहानाबाजी गर्ने गरेको पाइएको छ ।

वर्षायाममा काम भएन, दशैँ–तिहारले काम भएन, अनि अर्को बहाना सुरु भएको छ– चिसोले काम हुन सकेको छैन । यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका बासिन्दा र यात्रुले सास्ती व्यहोर्दै आएको खबर गोरखापत्र दैनिकमा छ । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यो सडकको कुल लम्बाइ ९.३६ किमि छ ।

भक्तपुर-नगरकोट-सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले चिसोका कारण मंसिरभित्र निर्माण हुन नसकेको बताए । उनले भने, “मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसोका कारण सोचेअनुसार काम गर्न सकिएन, चिसो कम हुँदै गएपछि निर्माण कार्यले गति लिनेछ ।’’ सडकको ‘प्राइम लेयर’को काम पूरा भइसकेको बताउँदै उनले कालोपत्रे गर्ने क्रममा दुई तहमध्ये पहिलो तहको कालोपत्रे भइसकेको छ । उहाँले अन्तिम कालोपत्रे पुसभित्र सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०७:५७