प्रधानमन्त्री बन्न नपाउने भएपछि नेकपा उपाध्यक्ष बामदेव गाैतम जित्ने चुनाव पनि लडेनन्
१८ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गाैतमले जित्ने चुनावमा उम्मेदवार हुन अस्वीकार गरेका छन । नेकपाको सचिवालयका सदस्य समेत रहेका गाैतमले शुक्रबार राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाउने क्रममा उम्मेदवार हुन अनिच्छा देखाएका हुन । उनले प्रधानमन्त्री हुन पाउने नदेखेपछि राष्ट्रियसभाको बाटो प्रयोग गर्न अस्वीकार गरेको उनी निकट नेताले बताएका छन । सचिवालयमा अर्का नेता नारायणकाजी श्रेष्ठ भने गण्डकी प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार बनेका छन ।

गौतमले भने यसअघि प्रधानमन्त्री हुन पाउने आशमा उपनिर्वाचनको बाटोबाट प्रतिनिधिसभामा जान पटक पटक प्रयास गरेका थिए । तर पार्टी नेता कार्यकर्ता र जनस्तरबाट समेत चर्को बिरोध भएपछि उनी पछि हटेका थिए । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको छ ।
नेकपाले पूर्व माओवदी र पूर्व एमालेलाइ १० र ६ सिट भाग लगाउँदै उम्मेदवार टुंग्याएको हो । नेकपाका तर्फबाट प्रदेश नम्बर १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामीलाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश २ मा तुलसा दाहाल र राधेश्याम पासवान उम्मेदवार बनेका छन् ।

त्यस्तै प्रदेश ३ बाट गंगा बेलबासे, बेदुराम भुसाल उम्मेदवार बनेका छन् । गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ भगवती न्यौपाने उम्मेदवार बनेकी छिन । यस्तै प्रदेश ५ बाट विमिला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् । यस्तै कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी र सूदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्ट उम्मेदवार सिफारिस भएका हुन् ।
प्रकाशित मिति : 12:57









