१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

१८ पुस, काठमाडौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउने/नपाउने बहस सुरु भएको छ । भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनुले त्यस्तो बहस सुरु भएको हो । विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ्न नसक्ने संकेतका रूपमा अर्थ्याएको खबर अन्नपूर्ण पोस्टमा छ । भारतीय प्रधानमन्त्री मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालैपालो टेलिफोन गरेर नयाँ वर्ष सन् २०२० को शुभकामना दिएका थिए । तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उनले फोन गरेनन् ।

सार्क अध्यक्षका नाताले नेपाली कूटनीतिज्ञले समेत अनौपचारिक रूपमा चासो देखाएका छन् । सार्क सचिवालयले पनि यसमा चासो देखाउँदै परराष्ट्र मन्त्रालयसँग सोधखोज गरेको एक अधिकारीले बताए ।

सार्कमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन् । भारतीय प्रधानमन्त्री मोदीले सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या र यस क्षेत्रको समग्र राजनीतिबारे छलफल गरेका थिए । मोदीले दुईपक्षीय समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने र सार्क क्षेत्रमा सहकार्य अघि बढाउने पनि बताएको प्रधानमन्त्री निकटस्थले सुनाए ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०७:०१