१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

सीमा विवाद समाधान गर्ने ठूलो अवसर : ज्ञवाली

१८ पुस, काठमाडौं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताएका छन् । उनले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम रहेको बताएका हुन् ।

राष्ट्रिय सभामा ‘नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको सीमा विवादसम्बन्धी विषय’मा सांसद खिमलाल भट्टराई प्रस्तावक र सांसद सरिता प्रसाई समर्थक भई दर्ता गर्नुभएको सङ्कल्प प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्री ज्ञवालीले दिएका हुन् ।

वार्ताबाट समस्या समाधान गर्न भारत तयार रहेको स्पष्ट गर्दै उनले भने, “इतिहास, तथ्य र प्रमाणले जे कुरा अगाडि सारेको छ, त्यसका आधारमा कूटनीतिक रूपमा यो समस्या समाधान गर्न सकिन्छ ।” उनले वार्ताका लागि उपयुक्त मितिबारे परामर्श गरिरहेको जानकारी गराएको खबर गोरखापत्र दैनिकमा छ ।

उनले बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको प्रसंग जोड्दै सन् २०२० लाई सम्बन्ध सुदृढीकरणलाई नयाँ उचाइमा लैजाने कुरा भएको पनि बताए । उनले भने, “समस्या छन् यथार्थ हो, सम्बन्ध पनि छ । नेपाल–भारतबीचमा घनिष्ठ मित्रता छ, बहुआयामिक सम्बन्ध छ, सार्थक आर्थिक साझेदारीको दिशामा हामी अगाडि बढिरहेका छौँ । समस्यालाई सम्बन्धको बाधक बन्न दिनुहुँदैन ।”

मन्त्री ज्ञवालीले कात्तिक २९ गते नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति र नेपाल-चीन अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति बनाएको जानकारी पनि दिए । यी सबै सीमाको दसगजाहरूको यथार्थ अद्यावधिक गरेर सरकारलाई प्रतिवेदन दिन्छ । प्रधानमन्त्री ओलीले २०५५ सालमा प्रतिनिधि सभामा कालापानीको भूभागकै विषयमा प्रस्ताव राखेको र त्यतिबेला भारतीय सेना फिर्ता पठाउने विषयमा राष्ट्रिय एकता कायम हुन नसकेको बताए ।

उखु किसानको बक्यौता माघभित्रै
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको सम्पूर्ण बक्यौता आगामी माघको पहिलो साताभित्रै भुक्तानी हुने बताएका छन् । उनले बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी गराए ।

मन्त्री भट्टले उखु मिल सञ्चालकलाई किसानको बक्यौताको ८० प्रतिशत रकम यही पुस २५ भित्र र बाँकी रकम माघको पहिलो सातभित्र चुक्ता गर्न निर्देशन दिइएको जानकारी गराए । उनले रकम भुक्तानी नगर्ने चिनी मिलको कारोबार रोक्का गर्नेसमेत बताए ।

प्रकाशित मिति : 06:33