१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

छैटौँ नुवाकोट महोत्सव माघ १६ देखि

१७ पुस, नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव बट्टारस्थित बसपार्क क्षेत्रमा हुनेछ । सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले ११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पुर्याउने बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठले नुवाकोटको सम्भावनाका बारेमा विज्ञहरु ल्याएर ‘इन्भेस्टमेन्ट टक’ समेत गरिने बताउनुभयो । सङ्घका प्रवक्ता सबिन राजभण्डारीले महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका कक्ष राखिने जानकारी दिनुभयो ।

महोत्सवमा २४० कक्ष रहनेछ ।सङ्घमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटमा महोत्सवका कक्ष उपलब्ध गराइने निर्णयसमेत भएको सङ्घले जनाएको छ । महोत्सव सञ्चालनका लागि सङ्घका अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र ३० उपसमिति गठन गरिएको सङ्घका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु्भयो ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १३:२९