२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

१ रुपैयाँमै खाने, बस्ने सुविधा !


१७ पुस, इलाम अहिलेको महँगी । त्यसमा पनि एक रुपैयाँमै खाने-बस्ने सुविधा । ओहो ! सोच्दा पनि पत्याउनै गाह्रो । तर, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका ५ पर्यटकलाई एक रुपैयाँमै खाने बस्ने सुविधा दिइएको छ ।


पहिलोपटक होटल बुक गर्न आएका ५ भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक/एक रुपैयाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएका हुन् ।

पर्यटकलाई थप आर्कषित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रर्वद्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा यस्तो सुविधा दिइएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए । इलाम आइपुगेका जापानी पर्यटक युकिड मितामुरा र ४ नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रुपमा प्रमाणपत्रसमेत प्रदान गरिएको खबर गोरखापत्र दैनिकमा छ ।

लक्की पर्यटक घोषित भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्यता आफ्नो देशमा बाँड्ने बताए । इलाम आउने पर्यटकलाई लक्षित गरी इलामबाट काठमाडौँसम्म र काठमाडौंबाट इलामसम्म आउने १ पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०७:०६

https://srdb.com.np/