१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

४४औं मेलमिलाप दिवस मनाउँदै कांग्रेस

१६ पुस, काठमाडौं नेपाली कांग्रेसले पार्टीका संस्थापक बीपी कोइरालालगायत नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ लाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायत कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, नेतृ शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बीपी, गणेशमानलगायतलाई त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगेर बन्दी बनाइएको थियो ।

राजा महेन्द्रले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

प्रकाशित मिति : 07:21