१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन

१४ पाैष, काठमाडौँ । चिनी मिलहरुले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौँमा प्रदर्शन गरेका छन् ।  सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी नगरेका भन्दै आज उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेका उनीहरु अहिले यहाँ आई सरकारको ध्यानाकर्षण गराएका हुुन् । रामनगर गाउँपालिकाका मायाशङ्कर यादवले मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनुपरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब पाँच हजार किसानले चिनी मिलबाट करिब रु ८१ करोड लिन बाँकी रहेको छ ।  अन्नपूर्ण चिनी मिलले रु ६० करोड र महालक्ष्मी मिलले रु २१ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उहाँले भन्नुभयो “उखुको रकम रकम नपाउँदा जीविकोपार्जनमा समस्या भएको छ । मिलबाट रु २५ लाख लिनुपर्छ । ”  भुक्तानी नपाएपछि किसानले सो मिलमा ताला समेत लगाएका छन् । उखु किसान सुखलाल सहनीले पटक पटक स्थानीय तहमा सहमति गरे पनि आफूहरुले उखुको भुक्तानी नपाएपछि यहाँ आएर आन्दोलन गर्नुपरेको दुःखेसो व्यक्त गर्नुभयो ।

उहाँले भननुभयो “केन्द्र सरकारलाई किसानका समस्याबारे जानकारी गराउन आन्दोलनमा उत्रेका हौँ । ” उनीहरुले सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु ५३६ लाई उखु मिलले कार्यान्वयन गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म सुख्खाकटीको नाममा काटिएको रकम समेत भुक्तानी गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार १६:५८