१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

बहुमतको निर्णयप्रति पौडेलको आपत्ति

१३ पुस, काठमाडौं कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयप्रति असन्तुष्ट पक्षले आपत्ति जनाएको छ । बहुमतका नाममा एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले अब नेतृत्वसँग संवाद नगर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

‘हाम्रा कुरा स्पष्टसँग राखेका छौं । हामी सभापतिज्यूसँग कुरा गर्न जाँदैनौं । देशभरका नेता-कार्यकर्तासँग संवादमा छौं’, पौडेलले भने, ‘हामी कम्युनिस्ट सरकारलाई धेरै मत ल्यायौं भन्दैमा संवैधानिक निकायमा मनपरी कहाँ गर्न पाइन्छ भनेर शेरबहादुर देउवाजीकै नेतृत्वमा सरकारलाई खबरदारी गरिरहेका छौं । तर, यहाँ बहुमत छ भन्दैमा एकलौटी निर्णय कसरी भइरहेका छन् ? प्रश्न उठेका छन् ।’

वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि बिहीबार सभापति देउवाले अर्को वर्ष फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिकलगायत विभिन्न निर्णय गराएका थिए । त्यसपछि सामूहिक धारणा तय गर्न शुक्रबार संस्थापनइतरको बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा बसेको थियो । केन्द्रीय कार्यसमितिको निर्णय गलत भएको निष्कर्ष निकाल्दै बैठकले मुलुकभरका पार्टी नेता-कार्यकर्तासँग संवाद गर्ने निर्णय गरेको खबर अन्नपूर्ण पोस्टमा छ ।

‘निर्णयहरू गलत मनसायमा भएका छन्, सच्याइनुपर्छ । पार्टीलाई निष्पक्षता, पारदर्शी र न्यायका आधारमा सञ्चालन गरेर लैजानुपर्छ’, बैठकपछि पौडेलले भने, ‘हिजोका निर्णय विधान र सहमतिको भावनाविपरीत छन् । प्रजातान्त्रिक मर्मविपरीत छन् र पार्टी परम्पराविपरीत छन् ।’ भ्रातृसंस्था गठन र विभाग बढाउने कुरा पनि विधानअनुसारै हुनुपर्नेमा उनले जोड दिए ।

उनले महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई छेउमा राखेर पत्रकारसँग असाधारण अवस्थामा मात्र पार्टीको कार्यकाल एक वर्ष थप्ने प्रावधान रहेको सुनाए । सभापति देउवाले भने पार्टीलाई संकटमा धकेल्ने गरी अर्को वर्ष फागुनमा महाधिवेशनको मिति तोकेको आरोप उनले लगाए ।

सरकारले विपक्षीसँग छलफलपछि मात्र सहमतिमा आमनिर्वाचनको मिति सार्वजनिक गर्ने गरेको उनले उल्लेख गरे । सभापति देउवाले भने पार्टीभित्र केही मान्छेसँग बसेर महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी उनले गरे । आफूहरू सहमतिमै पार्टी सञ्चालन गर्नुपर्ने पक्षमा रहँदारहँदै पनि सभापतिले सहमतिविपरीत बहुमतबाट पार्टी विधानका महत्त्वपूर्ण धाराहरू निलम्बन गरेको बताए ।

महामन्त्री डा. कोइरालाले पनि सभापतिले एकल निर्णय गरेर पार्टीलाई धराशायी बनाएको आरोप लगाए । ‘मैले सभापतिज्यू र वरिष्ठ नेता रामचन्द्र दाइलाई सधैं भन्दै आएको छु– तपाईंहरू एकढिक्का हुनुस्, नत्र पार्टी धराशायी हुन्छ’, उनले भने, ‘पार्टी एक हुनुपर्छ भन्दै गर्दा सभापतिले एकल निर्णय गर्नुभयो । ठीक भएन । यसले पार्टीलाई धराशायी बनाएको छ ।’ एकताका लागि पार्टी सभापतिले नै पहल गर्नुपर्नेमा उनले जोड दिए ।

असन्तुष्ट समूहको बैठकमा नेता सिटौला भने अनुपस्थित थिए । उनी काठमाडौंबाहिर रहेको जनाइएको छ । बैठकमा सहभागी नेताले पार्टी नेतृत्व बहुमतबाट अगाडि बढ्न खोजेकाले कडा रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले वार्ता समितिको प्रारम्भै गलत तरिकाले भएको बताएका थिए ।

प्रकाशित मिति : 07:29