१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नाइजेरियामा ११ इसाई बन्धकको घाँटी रेटेर हत्या

१२ पुस, काठमाडौं जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजेरियामा ११ इसाई धर्मावलम्बीको हत्या गरेको देखिने एउटा भिडियो सार्वजनिक गरेको छ । आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा अंग भएको बताएको छ ।

भिडियोमा देखाइएका पीडितबारे विस्तृत जानकारी दिइएको छैन । आईएसको ‘समाचार संस्था’ अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडियोमा देखाइएका ती सबै पुरुष छन् । आईएसले उनीहरू नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही साताअघि नियन्त्रणमा लिइएको जनाएको छ ।

भिडियो डिसेम्बर २६ तारिखमा सार्वजनिक भएको हो । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडियो सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् । उक्त भिडियो ठेगाना नखुलाइएको र खुला क्षेत्रमा खिचिएको बीबीसीले समाचारमा जनाएको छ ।

एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर उनीहरूको टाउको काटिएको छ । आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबरको अन्त्यतिर सिरियामा मारिएका थिए ।

करिब २ महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ‘प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो । त्यसयता उसले अभियानको ब्यानरमुनि विभिन्न देशमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ ।

नाइजेरियाको इस्लामिक समूहको एउटा खेमा बोको हरामले अहिले इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) को ब्यानरमा लडाइँ गरिरहेको छ ।  गत वर्ष आईएसडब्ल्यूएपीले स्वास्थ्यकर्मीको हत्या गरेका थिए । –बीबीसी

प्रकाशित मिति : December 28, 2019 at 8:05 am