१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग : अध्ययनका लागि आयो चिनियाँ टोली

११ पुस, काठमाडौं काठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबारै सम्बन्धित क्षेत्रमा पुग्नेछ ।

चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोकादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो । निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको खबर गोरखापत्र दैनिकमा छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले भने, ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा टोखा–छहरे सुरुङमार्ग निर्माणबारे भएको समझदारी कार्यान्वयनका रूपमा उक्त प्राविधिक टोली नेपाल आएको हो ।’

अध्ययनका लागि टोली एक महिनासम्म सोही सिलसिलामा नेपाल बस्ने उनले जानकारी दिए ।  चिनियाँ राष्ट्रपतिले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

थापाका अनुसार सो टोली चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा ९ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो । सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आवको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : December 27, 2019 at 6:42 am