२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

भ्रामक समाचारले श्रीमतीको चरित्रहत्या भएकाे भन्दै रामकृष्ण ढकालले यसरी गरे गुनासो

१० पुस, काठमाडौँ । भ्रामक समाचारले श्रीमतीको चरित्रहत्या भएकाे भन्दै रामकृष्ण ढकालले गुनासो गरेका छन् । ढकालको सम्बन्धविच्छेदका विषयमा विभिन्न कोणबाट समाचार आइरहेका बेला गायक ढकालले भने केही भ्रामक समाचारका कारण आफ्नी श्रीमतीको चरित्रहत्या भएको गुनासो गरेका हुन् । उनले यी समाचारहरु आफू र आफ्नो परिवारको आत्मसम्मान विपरित भएको बताएका छन् ।

ढकालले फेसबुक पेजमामा एक पोस्ट लेख्दै ती समाचारलाई विश्वास गरेर आफ्नो परिवारप्रति नकारात्मक टिप्पणी नगरिदिन पनि दर्शक तथा स्रोतालाई आग्रह गरेका छन् । उनले आफ्नी श्रीमती निलमप्रति गरिएका टिप्पणीका विषयमा भनेका छन् ‘एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्दछु ।’

उनको स्टाटस यस्तो छ, ‘मैले आफुले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ। कति गाएँ त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक–श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बनाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रशंशक कति रहेछन् भन्ने कुराको आभाष भएको छ। सम्पूर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरित छन् । त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरुप्रति खेद प्रकट गर्दछु । सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन् ।

व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ मप्रति चासो देखाउनु हुने मेरा सम्पूर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पूर्ण दर्शक श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाई अनवरतरुप मा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सँधैझैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन। आशा छ तपाईहरुको माया रहिरहने छ। सबैको दिन शुभ रहोस् ।’

प्रकाशित मिति : December 26, 2019 at 2:34 pm