१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

कालोपत्रे गरिँदै कान्ति लोकपथ

१० पुस, ललितपुर सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आवमै पूरा हुने भएको छ । जम्मा ७९ किमिमध्ये अहिलेसम्म ४५ किमि कालोपत्रे भइसकेको छ । चालू आवभित्र थप २९ किमि कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ ।

फाइल तस्बिर ।

योजनाका अनुसार बाँकी रहेको ५ किमिको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माणलगायत काम अर्को आवमा गरिनेछ । आगामी आवमा कालोपत्रे गर्ने भनिएका ५ किमिमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको उनले प्रस्ट्याए । यस वर्षको बर्खामा सडक खण्डको ३० ठाउँमा पहिरो गएको थियो ।

योजनाका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर, तामाखानीमा र मकवानपुरको प्रतापडाँडा, ढिङ्गान, मकवानपुरगढीमा प्रत्येक दुई-तीन सय मिटरमा पहिरो गएको थियो । कान्ति लोकपथ सडक योजनाका प्रमुख विनोद सापकोटाले कुल ७९ किमिमध्ये अहिलेसम्म ४५ किमि कालोपत्रे भइसकेको र चालू आवभित्र थप २९ किमि कालोपत्रे गर्ने लक्ष्य रहेको बताउँदै आगामी आवभित्र कालोपत्रे गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरिने जानकारी दिए ।

काठमाडौँतिर यस सडकको जिरो किमि टीकाभैरव र हेटौँडातिर यसको जिरो किमि हेटौंडाको बुद्धचोक छ । ललितपुरको टीकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म यस सडकको कुल लम्बाइ ७९ किमि छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेन रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’को अर्थात् ‘डबल लेन’ र ‘सिङ्गल लेन’को बीचमा रहने जानकारी योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले दिए ।

सडकको कुल ७९ किमिमा मकवानपुरतर्फको ५१ किमिमध्ये ३० किमि कालोपत्रे भइसकेको उनको भनाइ छ । जिरो किमिदेखि ३० किमिसम्म कालोपत्रे गरिएको हो । त्यसैगरी ललितपुरतर्फ विभिन्न खण्डमा १५ किमि कालोपत्रे सम्पन्न भइसकेको खबर गोरखापत्र दैनिकमा छ ।

चालू आवमा ललितपुरमा बाँकी रहेका २ किमि सडकको चौडा गर्ने कामसमेत पूरा हुने उनले बताए । अबको ३ महिनाभित्र सो सडकको चौडा गर्ने कार्य सम्पन्न हुने योजनाको दाबी छ ।

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०७:११