१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

सरकारमा जान ‘पर्ख र हेर’को नीतिमा

९ पुस, काठमाडौं सरकारबाट समाजवादी पार्टी बाहिरिएसँगै राजपाको सिंहदरबार प्रवेशबारे चासो बढेको छ । राजनीतिक वृत्तमा अब राजपाको सिंहदरबार प्रवेश सहज र अपेक्षित भएको अड्कल काट्न थालिएको छ ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीबाट मंगलबार राजीनामा दिएका छन् । संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अश्वीकार गरेपछि सरकार छोड्नुको विकल्प नरहेको अध्यक्ष यादवले संसदीय दलको बैठकमा सुनाएका थिए ।

प्रधानमन्त्रीले प्रदेश प्रमुख हटाउँदा सत्ता साझेदार समाजवादीसँग सल्लाह नगरेको, विदेशमा रहेको बेला मन्त्रालय परिवर्तन गरेको र राज्यमन्त्री हटाउनेबारे प्रधानमन्त्रीले आफूसँग सल्लाह नगरेकोमा यादव असन्तुष्ट थिए । उनले सरकारबाट बाहिरिने उचित मौकाको खोजी गरिरहेका थिए ।

समाजवादीका महामन्त्रीसमेत रहेका सांसद रामसहायप्रसाद यादवले भने, ‘कहाँनेर सरकार छोड्ने भन्ने प्वाइन्टको इन्तजार थियो, अहिले आयो । संविधान संशोधनको कुरा मुख्य थियो त्यो प्रस्ताव ठाडै अस्वीकार भएपछि सरकारमा रहने अवस्था नरहेको निष्कर्षमा अध्यक्ष यादव पुग्नुभएको हो ।’

उपप्रधानमन्त्री यादव मन्त्रालयको जिम्मेवारी हेरफेर भएपछि मन्त्री क्वार्टर पुल्चोक गएका थिएनन् । उनले आफ्नो सामान डेरामा सारिसकेको खबर कान्तिपुर दैनिकमा छ । उनी सरकारबाट बाहिरिने उपयुक्त मुद्दाको खोजीमा थिए । ‘संविधान संशोधनको माग प्रधानमन्त्रीले मानेनन् र सरकार छोड्यौँ’ भनेर समाजवादीलाई सहज भएको छ ।

प्रकाशित मिति : 07:55