१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

दक्षिण कोरियाका लागि श्रमिक छनोट सीप परीक्षामा ५९ प्रतिशत मात्रै उत्तीर्ण

७ पुस, काठमाडौं  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको सीप परीक्षामा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षामा ६ हजार ७ सय ७३ नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

सन् २०२० मा दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका मध्येबाट ११ हजार ४ सय ६३ जना सहभागी भएकामा ६ हजार ७ सय ७३ जना सीप परीक्षामा उत्तीर्ण भएको खबर गोरखापत्र दैनिकमा छ । जसमा पुरुष ५ हजार ७ सय ३९ जना र १ हजार ३४ महिला छन् । सन् २०२० मा ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा दिएका ९२ हजार परीक्षार्थीमध्ये १२ हजार १० जना उत्तीर्ण भएका थिए भने सीप परीक्षामा ४ सय ३७ जना अनुपस्थित भएका थिए ।

ईपीएस शाखाका अधिकृत बाबुराम घिमिरेले सीप परीक्षा उत्तीर्ण हुनेमा उत्पादनतर्फका ४ हजार ७ सय ६४ र कृषितर्फका २ हजार ९ जना रहेको जानकारी दिए । सीप परीक्षाको नतिजापछि कोरियाले ईपीएसमार्फत नेपाललाई तोकेको कोटामा ३ हजार २ सय ७७ कम हुन आउँछ । तोकिएको कोटामा कृषितर्फ ३ हजार माग गरेकामा २ हजार ९ जना उत्तीर्ण भएपछि ९ सय ९१ जना कम हुन्छ भने उत्पादनतर्फ ७ हजार ५० जना कोटा निर्धारण गरिएकामा २ हजार २ सय ८६ जना कम हुन्छ ।

सन् २०२० मा कोरियाको कृषि र उत्पादन क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभाग (एचआरडी)ले १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा ३ हजार र उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० जना गरी १० हजार ५० जना माग गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले ईपीएसमार्फत दक्षिण कोरिया रोजगारीमा जानेका लागि पहिलोपटक सीप परीक्षा अनिवार्य गरिएकाले नतिजा कमजोर देखिएको बताए । उनका अनुसार सन् २०१९ सम्म कोरिया जाने भाषा परीक्षा उत्तीर्ण भएका सबैले रोजगार आवेदन भर्न पाउँथे तर यो वर्षदेखि कोरियाको एचआरडीले सीप परीक्षणलाई अनिवार्य गरेको हो ।

प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ०६:३३