२२ महिनामा १२ अर्ब बढी राजस्व छली
६ पुस, काठमाडौं । मुलुकमा राजस्व छलीको भयानक अवस्था रहेको तथ्य उजागर भएको छ । गएको २२ महिनामा मात्रै १२ अर्बभन्दा बढीको राजस्व छली भएको तथ्य सार्वजनिक भएको छ ।
छलीका अनेक रूप पत्ता लगाउँदै मुलुकको राजस्व चुहावट नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले गत २२ महिनामा १२ अर्ब ३१ करोड ४७ लाख रुपैयाँभन्दा बढी छली भएको तथ्य सार्वजनिक गरेको हो । यस तथ्यसँगै सामाजिक उत्तरदायित्वसमेत वहन गरिरहेका केही व्यवसायीले सरकारलाई तिर्नुपर्ने अर्बौं राजस्व छली गरी आफ्नै विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको खबर राजधानी दैनिकमा छ ।
यस अवधिमा राजस्व अनुसन्धान विभागको कारबाहीमा ५ सय ७ व्यापारीले राजस्व छली गरेको पाइएको छ । यस कार्यमा ८ कर्मचारीले साथ दिएका छन् । राजस्व छली गर्ने व्यापारी र कर्मचारीसहित विभागले ५ सय १५ जनाविरुद्ध राजस्व छलीमा मुद्दा दायर गरी कारबाही प्रक्रियालाई आक्रामक बनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको थियो । प्रधानमन्त्री मातहत सो विभाग आएसँगै विभागले राजस्व छली गर्नेहरूविरुद्ध आक्रामक कारबाही गर्दै आएको हो ।

राजस्व चुहावटको कसुरमा ८ राष्ट्रसेवक कर्मचारीसहित कुल ५ सय १५ जनाविरुद्ध १२ अर्ब ३१ करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैद माग दाबी लिई विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । पछिल्लोपटक गत बिहीबार मात्रै विभागले पेप्सी उत्पादक कम्पनी वरुण बेभरेजका सञ्चालकले गरेको ६४ करोड ९६ लाख कर छलीविरुद्ध दोब्बर जरिवानासहित मुद्दा दायर गरेको थियो ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान जारी राखिएको बताए । उनले अनुसन्धानका क्रममा राजस्व छली गर्नेहरूको संख्या अत्यधिक पाइएको बताए । तर, राजस्व छली गर्ने कोही पनि उम्कन नसक्ने उनले चेतावनी दिए ।
प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०७:२६












